ICDC
"We aspire to leave no stone unturned." - ‘ICDC-Nepal’
आई.सी.डी.सी.-नेपालले धादिङका विभिन्न स्वास्थ्य केन्द्रवाट मानसिक रोगको उपचार र नि:शुल्क औषधिको व्यवस्थापन गरेर मजस्ता विमारीहरुलाई ठूलो गुन लाएको छ ।

पृष्ठभूमि:

कुम्पुर वडा नं ७ हाल सिद्धलेक गाँऊपालिका वडा नं ७ निवासी राम प्रसाद रिजाल वर्ष ५२ का मानसिक बिरामी थिए । उनी काठमाडौमा २० वर्षदेखि चालक पेशामा आवद्ध थिए । चालक पेशाबाट उनको जीविका चलेको थियो । गाँउमा सामान्य खेतिपातिमा उनकी श्रीमती संलग्न थिइन् । उनका २ छोरा र ३ वटी छोरीहरु छन् । हाल उनीसँगै कान्छो छोरा बुहारी र नाति छन् । निम्न मध्यम परिवारका उनीहरुको जीवन सामान्य नै चलिरहेको थियो । साथीहरुको संगतले उनमा मादक पदार्थ खाने लत बस्यो । ६ वर्ष अघिदेखि उनमा अचानक परिवर्तन आयो । उनको कलंकीमा गाडि दुर्घटनामा पर्‍यो , डाक्टरले उनलाई केहि समय आराम गर्न भने । उनमा डिप्रेसनको लक्षण देखिएको डाक्टरहरुले बताए । उनी पनि पहिले भन्दा फरक व्यवहार देखाउँथे । केहि समय औषधि पनि खाए । तर औषधिको नियमित सेवन नगरेकाले उनको रोग कम भएन । आफन्तको सल्लाह अनुसार उनी घरमा बस्न थाले । श्रीमती भन्छिन्, त्यस वेला उहाँमा एकोहोरो हुने , टोलाउने , कसैसँग बोल्न नचाहने , झोक्राउने जस्ता लक्षण देखिन थाल्यो । हामीसँग पनि बोल्न नचाहने, बोलिहाले पनि झर्कने गर्नुहुन्थ्यो । बुवाले झारफुक गर्ने भएकोले धेरै पटक झारफुक पनि गरियो । तर विरामिमा सुधार हुनुको साटो झन व्यथा बढ्यो । उनमा रोग बढदै गएपछि ३ पटक आत्महत्याको प्रयास पनि गरे । उनको श्रीमतीले बचाइन् , छोराले नदिमा हामफाल्न लाग्दा बचाए । आई.सी.डि.सी.-नेपालले मानसिक स्वास्थ्य सम्वन्धि कार्यक्रम सञ्चालन गरेपछि र उक्त विमारीका बारेमा स्वयं सेविकाले जानकारी दिएपछि मनोसामाजिक कार्यकर्ता शान्ता रिमालले उनलाई भेटनुभयो । उहाँलाई मनोविमर्श सेवा दिईयो र अस्पताल सम्म जान प्रेरित गरियो । अस्पताल गएर नियमित औषधि खाएपछि र मनोविमर्शकर्ताको नियमित मनोविमर्शले उहाँमा सुधार आयो । हाल सामान्य जीवन यापन गरिरहनु भएको छ ।

प्रस्तुत छ, सामाजिक कार्यकर्ता शान्ता रिमालले बिरामीसँग गरेको कुराकानी :-



तपाईंको बारेमा बताईदिनुहोस् न ।
मेरो नाम राम प्रसाद रिजाल हो । मेरो घर कुम्पुर गाविस वडा नं ७ हो हालको सिद्धलेक ७ ,पिपलटार । म हाल श्रीमती , छोरा बुहारी र नातिहरुसँग बस्दै आएको छु ।


तपाईंलाई समस्या हुनु भन्दा अगाडि जीवनशैली कस्तो थियो ?
म यो समस्या हुनुभन्दा अगाडि म काठमाडौंमा बस्थे । म सानैदेखि घरबाट बाहिर बसें, ड्राइभर पेशा भएकाले साथीहरु पनि प्रशस्तै थिए । काठमाडौमा कोठामा बस्थें , घरमा आउने जाने गरिरहन्थें । परिवारमा बेलाबेला खर्च पठाउने गर्थें । फुर्सदमा साथीहरुसँग रमाइलो गरेर बस्ने गरिन्थ्यो ।


तपाईलाई समस्या कहिलेदेखि भयो ?
अहिले भन्दा करिव ५-६ वर्ष अघिबाट शुरु भएको हो । गाडी चलाउँदै जाँदा एकदिन म दुर्घटनामा परें । वीर अस्पतालमा लगेर उपचार गरेछन् । आफन्तहरु पनि अस्पतालमा नै भेट्न आए। मलाई ठिक पनि भयो । तर डाक्टरले मेरा परिवारसँग केहि समय आराम गर्न सल्लाह दिएछन् । परिवारको सल्लाह अनुसार म घरमा आएँ । काठमाडौंमा बस्दा साथीहरुको संगतले र आफ्नो व्यवहारले गर्दा मेरो रक्सी खाने लत बढि बढि हुँदैगयो । विहानै रक्सी खान मन लाग्ने , नखादा असजिलो महशुस हुने भएको थियो। के विर्सें के विर्सें जस्तो लाग्न थाल्थ्यो त्यतिबेला मलाई ।


तपाईंलाई यस्तो समस्या भएपछिका दिनहरु कसरी वित्न थाल्यो ?
म घरमा नै बस्न थाले , मलाई दिक्क लाग्थ्यो , रक्सी खान मन लाग्ने , कसैसँग बोल्न मन नलाग्ने, बेला बेला रुन मन लाग्थ्यो । अरुले के भन्थे, एकैछिनमा विर्सन्थें । रक्सी पनि बढि पिउन थालें । परिवारको चिन्ताले अत्याधिक सताउने र रक्सी खाएपछि मात्र ठिक हुनेभयो । मलाई त्यति बेला काम गर्न पनि मन लाग्दैन थियो ।


समस्याले झन कसरी जटिल रुप लियो ?
मलाई भूकम्प गएपछि झन नरमाइलो लाग्न थाल्यो, के हुने कसो हुने जस्तो लाग्न थाल्यो , कतैबाट आवाज आउदा पनि भूकम्प गएजस्तो लाग्न थाल्यो । मेरा २ वटा घरहरु थियो, त्यो २ वटै घरहरु भत्कियो र त्यतिवेला मलाई आफू पनि बिरामी छु । मेरो संसारै सकियो जस्तो लाग्थ्यो । परिवार कसरी चलाउने , के गर्ने कसो गर्ने जस्तो हुने सम्झँदा पीडा हुने , मन आत्तिने ,लगातार धेरै दिनसम्म निन्द्रा नपर्नेभयो । रक्सी खाएको केहि समय मात्र सुत्न सकिने त्यसपछि निदाउन नसकिने समस्या भयो । त्यसपछि म झन बढि रक्सी पिउन थालें । म मर्नको लागि त्रिशुली किनारमा गएको बेलामा छोराले फर्काएर लिएर आयो । मैले ३ पटक सम्म मर्न कोशिस गरे तर मेरा परिवारले मर्न दिएनन् ।


जब तपाईं समस्याबाट गुज्रनु भएको थियो, त्यसपछि तपाईंलाई परिवारले र समुदायले कसरी सहयोग गर्नुभयो?
जब मलाई रोग लाग्यो , मलाई परिवारले चाहि धेरै सहयोग गर्‍यो, मायागर्‍यो । तर गाँऊलेहरुले मलाई हेला गर्न थाले । बाह्रमासे जाड खान्छ भन्थे । मलाई रोग लाग्नभन्दा अघि बोलाउने, के छ हालखबर भन्ने मान्छेहरु पनि मुन्टो फर्काएर हिँड्थे । मेरो श्रीमतीले र छोराहरुले सधै रक्सी नखानुस्, के भएको छ भन्नुस भन्थे । मलाई उनीहरुले भनेको ठिक हो जस्तो पनि लाग्थ्यो । तर एकैछिनमा ह्या यिनीहरु कराइरहन्छन् भन्ने लाग्थ्यो । साथीहरु पनि टाढा भए ।


तपाई समस्या भएपछि आई.सी.डी.सी. सँग कसरी जोडिनुभयो? आई.सी.डी.सी. -नेपालले तपाईलाई के सहयोग गर्‍यो?
स्वास्थ्य स्वयंसेविका शोभा घले दिदी हाम्रो घरमाआएर श्रीमतीसँग कुरा गर्नुभएछ । मलाई पनि भेटनु भयो र अस्पताल जान भन्नुभयो । श्रीमतीले एकपटक अस्पताल जाऊँ भनेकी थिइन्। स्वंयसेविकाले भनेरै संस्थाबाट शान्ता बहिनी( मनोसामाजिक कार्यकर्ता शान्ता रिमाल)भेटन आउनुभयो । लामो समयसम्म मसँग कुरा गर्नुभयो, धेरै कुरा सम्झाउनुभयो । त्यसपछि एकपटक अस्पताल जाऊँ न त जस्तो लाग्यो मलाई पनि । मेरी श्रीमतीले मलाई गजुरी अस्पताल लिएर गईन् । डाक्टरले के भएको छ ? समस्याबारे सोध्नुभयो । कहिलेदेखि यस्तो भयो भनेर धेरै लामो कुराकानी भयो । मलाई पनि उहाँसँग कुरा गर्न मन लाग्यो । धेरै कुरा भनें । मेरा समस्या नलुकाइकन डाक्टरलाई भनें । आफुमा भएको अप्ठ्याराहरु पनि भनें । औषधि नियमित खानुस् भनेर सल्लाह दिनुभयो । खानलाई चक्की डाक्टरले दिनुभयो , बेलुका-बेलुका खान भन्नुभयो । औषधि लिएर घर फर्कियौं । शान्ता बहिनी बेला-बेलामा घरमा नै आएर औषधि नियमित खाए नखाएको बुझ्नुहुन्थ्यो । नियमित औषधि खान भन्नुहुन्थ्यो । उहाँसँग कुरा गरेपछि फेरि संस्थाका सरस्वती(मनोविमर्शकर्ता सरस्वती मिश्र) बहिनीसँग पनि धेरैपटक कुराकानी भयो, उहासँग कुरा गरेपछि मन हलुका भयो । धेरै पटकको भेटमा उहाँले मसँग सकारात्मक व्यवहारका कुरा गर्नुहुन्थ्यो । मैले आफुभित्र रहको सवल पक्ष थाहा पाएँ । हिम्मत गरे यस्ता समस्यासँग जुध्न सकिन्छ, सामना गर्न सकिन्छ भन्ने वुझेँ ।


उपचार पाउँन थालेपछि तपाईंमा केहि परिवर्तन आए?
मैले अस्पतालबाट औषधि लिएर आइसकेपछि र नियमित रुपमा औषधि खान थाले, पहिले भन्दा निन्द्रा राम्रोसँग लाग्न थाल्यो । मन थोरै हलुका भएजस्तो भयो । पहिला मलाई गाह्रो हुन्थ्यो , गाह्रो हुन पनि अलि कम भयो । घरपरिवारसँग पनि कुरा गर्न थालें । श्रीमतीले पनि औषधि खान सम्झाउँथिन् । सकेको घरको काम पनि सघाउँन थाले । किसानी हुँ हजुर, बारीमा तरकारी लगाउने , टिप्ने, बजारसम्म लैजाने , गोठालो जाने लगायतका काम विस्तारै गर्न थालें ।


तपाईंको तर्फबाट यस समस्यालाई कम गर्न के के कामहरु गर्नुभयो ?
मैले पूर्णरुपमा रक्सी खान छोडें । संस्थाका मिसहरुले भनेजस्तै गरें , नियमित पानी पिउन थालें । रमाइलो गरिरहेको ठाँउमा जान थाले मनमा लागेको कुराहरु श्रीमती र छोराछोरीलाई भन्न थालें, औषधि नियमित खान थालें , सकेको काम सघाउँन थालें ।


तपाईंलाई आई.सी.डी.सी.-नेपालको सेवा कस्तो लाग्यो?
म एकदमै राम्रो लाग्यो , सेवाबाट म सन्तुष्ट छु । मेरो जीवन नै परिवर्तन भएको छ । मलाई यस संस्थाले गर्दा पुनर्जीवन पाए जस्तो लाग्छ । म र मेरा परिवार यस संस्थाप्रति आभारी छौं । महिला स्वास्थ्य स्वयंसेविकाले पनि मलाई अस्पताल जानलाई सल्लाह दिनुभयो । यस्तो बिरामी निको हुन्छ भन्नुहुन्थ्यो । डाक्टरहरुले पनि नम्र व्यवहारमा मेरो कुरा सुन्ने र आफ्नो परिवारको सदस्यजस्तै व्यवहार देखाउनु भयो । सामाजिक कार्यकताबाट पनि रोग ठिक हुन्छ भनेर बेला बेला भेटने, के गर्दै हुनुहुन्छ भन्ने गर्नुभयो । रेडियो धादिङमा कार्यक्रम सुन्न भन्नुभयो । मैले नियमित रुपमा मानसिक स्वास्थ्य-कार्यक्रम सुन्थें । रेडियोको कार्यक्रम सुनेपछि मजस्ता धेरै बिरामी हुँदा रहेछन् र ठिक हुँदा रहेछन् भन्ने हौंसला बढ्यो । यसले पनि मेरो रोग ठिक हुनमा सहयोग गर्‍यो । लाञ्छना विरुद्धको १ दिने कार्यक्रममा मलाई बोलाउनु भएको थियो , मेरा अनुभवहरु अन्य व्यक्तिहरुसँग सुनाएँ । मानसिक बिरामीलाई अरुले गर्ने सम्बोधनले पनि कति असर गर्छ भन्ने मेरो अनुभव सुन्दा सबैजना दङ्ग परेका थिए । उनीहरुलाई राम्रो शब्दले सम्बोधन गर्न आग्रह गरें मैले ।


अन्तमा केहि भन्न चाहनुहुन्छ ?
म आई.सी.डी.सी.-नेपाललाई धेरैधेरै धन्यवाद दिन चाहान्छु । अन्य शारीरिक रोगजस्तै मानसिक रोग पनि उपचार गरी नियमित औषधी सेवन र मनोविमर्श गर्दा निको हुने रहेछ । आई.सी.डी.सी.-नेपालले धादिङका विभिन्न स्वास्थ्य केन्द्रवाट मानसिक रोगको उपचार र नि:शुल्क औषधिको व्यवस्थापन गरेर मजस्ता विमारीहरुलाई ठुलो गुन लाएको छ । यस्तो कार्यक्रम निरन्तर गरी मजस्तै समुदायमा रहेका अन्य बिरामीहरुको पनि जीवनमा परिवर्तन ल्याउन सहयोग गर्नुहोस् भन्न चाहन्छु । मेरो भगवान बनेर मेरो पुर्नजीवन दिए जस्तो लाग्छ ।

  • Partners
  • World Education
  • JICA/CASP/PPQC
  • LGCDP
  • LGAF/ADB
  • PRAN/CECI
  • HUDEP Nepal/ RDIF
  • European Union
  • CeLerd
  • The Asia Foundation
  • FWOLD
  • Search Nepal
  • World Bank/ PRAN/CECI
  • Center for Education Policy and Practice (CEPP)
  • ASB Germany
  • International Medical Corps (IMC)
  • Foundation De France /ARSOW Nepal
  • TDH Germany
  • Poverty Alleviation Fund/WB
  • UNICEF Nepal
  • KKS Germany
  • BMZ Germany