ICDC
"We aspire to leave no stone unturned." - ‘ICDC-Nepal’
अन्य शारिरीक रोग जस्तै मानसिक रोग पनि उपचार लिई नियमित औषधी र मनोविमर्श गर्दा निको हुने रहेछ ।
(ICDC द्वारा IMC को सहयोगमा सञ्चालित 'MPHSS परियोजना' का बारेमा पींडा गाविस २ की महिला स्वास्थ्य स्वयंसेविकासँग गरिएको कुराकानी )



तपाईंको परिचय ।
मेरो नाम मिश्रा रइला हो । म पिडां गा.वि.स वडा नं २ मा बस्छु र म यो वडाको महिला स्वास्थ्य स्वंयसेविका हुँ । विगत २७ वर्षदेखि यो सेवामा छु । मैले धेरै तालिममा सहभागी भएर स्वास्थ्य सबन्धि तालिम लिएको छु । तालिम र लामो समयको अनुभवले समाजमा स्वास्थ्य समस्या भएका मानिसहरुलाई सहयोग गर्नु नै मेरो काम हो ।


तपाईंको सेवाक्षेत्रमा कस्ता कस्ता समस्या भएको विरामीहरु भेटिन्छन् ?
हाम्रो ठाँउमा कुपोषण, सुत्केरी र गर्भवती भएका महिलाका समस्या, निमोनिया भएका बच्चाहरु , टाउके दुख्ने , ज्वरो आउने , छोपुवा व्यथा , टोलाउने , रुने खालका विरामीहरु भेटिन्छन् ।


हालसम्म स्वास्थ्य क्षेत्रमा लागेर के कस्ता जिम्मेवारीहरु वहन गर्दै आउनुभएको छ ?
मैले २०४६ सालबाट यस क्षेत्रमा काम गर्न थालेको हुँ । समुदायमा स्वास्थ्यसँग सम्बन्धित सचेतना फैलाउने र समुदायका मानिसहरुलाई स्वास्थ्यसेवा लिनको लागि प्रेरणा दिनु नै मेरो मुख्य काम हो । विषेशगरी नवजात शिशु , सुत्केरी, गर्भवती लगाएतका समुदायका व्यक्तिहरुलाई स्वास्थ्यसुरक्षा सम्वन्धि काम गर्दै आएको छु । पछिल्लो समयमा २०७२ सालको भूकम्पपछि भने मैले आई.सी.डी.सी.-नेपालले दिएको मनोसामाजिक समस्या भएको व्यक्तिहरुलाई शिफारिस सम्बन्धि तालिम लिएपश्चात मनोसामाजिक समस्या देखिएकाहरुलाई मनोविर्मशकर्ता र अस्पतालसम्म जान सल्लाह दिने गरेको छु ।


गाँऊघरमा मानसिक स्वास्थ्य समस्या भएका विरामीहरु कतिका छन् ? उनीहरुलाई तपाईं कसरी सहयोग गर्नुहुन्छ?
हाम्रो गाँऊमा मानसिक स्वास्थ्य समस्या भएका विरामीहरु पनि छन् । पहिलेपहिले त मानसिक समस्याको बारेमा हामी जानकार थिएनौं । आई.सी.डी.सी.-नेपालले शिफारिस सम्बन्धि तालिम दिएपछि, यस सम्बन्धि जानकारी भयौं । गाँऊघरमा मानिसहरुलाई भेटेर , आमासमूहहरुसँग कुरा गरेर मानसिक समस्या भएका व्यक्तिहरुलाई स्वास्थ्यसंस्था जान सल्लाह दिने गरेको छु । मानसिक रोग लागेका विरामीहरु पनि निको हुँदारहेछन् हाम्रा स्वास्थ्यचौकीमा पनि डाक्टरहरुले यस सम्बन्धि तालिम लिएर आउनुभएको छ । सी.आई.डी.टी. (बिरामीको रोग पहिचान गर्ने कार्ड) र शिफारिस पुर्जी भर्ने गरेका छौं । छारेरोग, मनोविकृति , लागूपदार्थ दूर्व्यसन, आघातजन्य घटनापछि उत्पन्नहुने समस्या, उदासीनता र आत्महत्या जस्ता समस्याहरुबाट प्रभावित व्यक्तिहरुको लागि अस्पतालसम्म जानको लागि सहयोग गर्ने गरेको छु।


आई.सी.डी.सी- नेपालले तपाईंलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम दिनु भन्दा अगाडि तपाईं मानसिक समस्या भन्नाले के बुझ्नुहुन्थ्यो ? र, मानसिक समस्या भएका विरामीहरु भेटिए के गर्नुहुन्थ्यो ?
पहिला चाहिँ हामी मानसिक समस्या भनेको बहुला पागल भन्ने बुझ्थ्ंयौ र त्यस्ता विरामीहरु जान्ने झाँक्री खोजेर लाउनु भन्ने सल्लाह दिन्थ्यौं । यस तालिमले धेरै विषयमा जानकारी दियो । अन्य शारीरिक रोग जस्तै मानसिक रोग पनि उपचार लिई नियमित औषधि र मनोविमर्श गर्दा निको हुने रहेछ ।


तालिम पश्चात तपाईंले काम गर्ने क्रममा कस्ताकस्ता समस्याहरु वा चुनौतीहरु भोग्नुभयो ?
म समुदायसँग पहिलेदेखि नै जोडिएकोले गाँऊमा कुरा गर्न र मानिसहरुलाई भेट्न त गाह्रो भएन, तर मानिसहरुलाई मानसिक रोगको पनि उपचार हुन्छ भन्ने बुझाउन भने अलि गाह्रो भयो । हामी गाँऊमा जाँदा जागिर खाएर काम गर्न आएको पनि भने , कसैले कस्ताकस्ता झाँक्रीले ठिक नबनाएको व्यथा कसरी अस्पतालमा ठिक हुन्छ पनि भने , यो व्यथा झाँक्री लाउनु पर्ने छ, म अस्पताल जान्नँ भन्ने भनाई पनि सुनियो ।


तपाईंले मानसिक स्वास्थ्यलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट के-कस्ता कार्यहरु गर्नुभयो ?
मैले जब मानसिक स्वास्थ्य सम्बन्धि तालिम लिए, त्यसपछि आमा-समूहको बैठकमा विद्यालयमा गएर मानसिक समस्या भनेको यस्तो-यस्तो खालको समस्या रहेछ, छोपुवा व्यथा पनि मानसिक समस्या रहेछ भन्ने कुराहरु जानकारी दिन थाले । समस्या भएका व्यक्तिहरुलाई घरमा गएर भट्ने र शिफारिस-पुर्जी (अस्पतालमा बिरामीको पहिचान गर्ने), सी.आई.डी.टी. (सामाजिक कार्यकर्तालाई बिरामीको प्रकार सम्वन्धि जानकारी दिने कार्ड) प्रयोग गरें, जसबाट विरामिको पहिचान र अस्पतालसम्म जानको लागि सहयोग भयो । अस्पतालमा गएपछि विरामीहरुले पुर्जी दिँदा विशेष सुविधा पाएको पनि सुनाएँ ।


आई.सी.डी.सी. को मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रम तपाईंलाई कस्तो लाग्यो ?
एकदम राम्रो लाग्यो, प्रभावकारी लाग्यो । यो कार्यक्रमभन्दा अगाडि मानसिक समस्याको बारेमा हामीलाई जानकारी थिएन । कसैले सोध्यो भने जान्ने झाँक्रीलाई खोजेर लाउनु भन्ने गर्थें , छारेरोग लाग्दा त झन् कति पटक म आफैले पनि जुत्ता सुँघाउन लगाएको छु । अहिले अस्पता लगएर उपचार गराए ठिक हुन्छ भन्ने गरेको छौं । हामीले पठाएको बिरामीहरुलाई स्वास्थ्यकर्मीले पनि राम्रो व्यवहार देखाउनु भयो । बिरामीहरुले पनि उहाँहरुको सेवाले गर्दा पुन: अस्पताल जानको लागि इच्छा व्यक्त गर्नुभयो । समाजमा लाञ्छना विरुद्ध कार्यक्रम भएपछि मानसिक रोगीहरुलाई गर्ने सम्वोधन पनि केहि फेरिएको छ । यसले गर्दा मानसिक रोगीहरु आफ्नो समस्या वताउन अलि सजिलो महशुस गर्छन् ।


'आई.सी.डी.सी.-नेपाल' लाई केहि भन्न चाहनुहुन्छ ?
म 'आई.सी.डी.सी.-नेपाल' लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । मैले वर्षौंसम्म नसिकेको कुरा तालिम मार्फत सिकाउनु भयो । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु ल्याएर सेवा प्रदान गरोस् भन्न चाहन्छु । लामो समय स्वास्थ्यक्षेत्रमा काम गरें । अब पनि काम गर्ने इच्छा छ । स्वयंसेवाको यो इच्छा रहि रहुन्जेल स्वास्थ्यक्षेत्रमा समर्पित हुनेछु । आर्थिक रुपले पनि हामीलाई केहि सहयोग भएको थियो । काम गर्ने इच्छा हुँदाहुँदा यस कार्यक्रमको अवधि सकियो । आगामी दिनमा पनि यस्तै कार्यक्रमको अपेक्षा गर्दछु ।

  • Partners
  • World Education
  • JICA/CASP/PPQC
  • LGCDP
  • LGAF/ADB
  • PRAN/CECI
  • HUDEP Nepal/ RDIF
  • European Union
  • CeLerd
  • The Asia Foundation
  • FWOLD
  • Search Nepal
  • World Bank/ PRAN/CECI
  • Center for Education Policy and Practice (CEPP)
  • ASB Germany
  • International Medical Corps (IMC)
  • Foundation De France /ARSOW Nepal
  • TDH Germany
  • Poverty Alleviation Fund/WB
  • UNICEF Nepal
  • KKS Germany
  • BMZ Germany