ICDC
"We aspire to leave no stone unturned." - ‘ICDC-Nepal’
अन्य कामलाई भन्दा बाख्रा पालनलाई आफ्नो मुख्य पेशा बनाएको छु ।
(समाजसेवीको रुपमा चिनिएका साविकको कटुञ्जे-१ हाल नेत्रावती गाँऊपालिका वडा नं.- ४ का स्थानीय बासिन्दा हुन्, पुषक बहादुर अधिकारी । बिभिन्न सामुदायिक संघ संस्थामा आबद्ध रहेका उनी गरीवी निवारण कोषको आर्थिक सहयोगमा ICDC-Nepal धादिङले सञ्चालन गरेको 'गरीवी निवारण कार्यक्रम' अन्तर्गत कटुञ्जेमा गठन गरिएको जालपादेवी सामुदायिक संस्थाको कोषाध्यक्ष हुनुहुन्छ । विशेषगरी हाल उहाँको पहिचान बाख्रा-बाजेको रुपमा समेत परिचित हुन थालेको छ । आई.पी.एम. पाठशाला चलाउनेदेखि बाख्रालाई रोग लागेको बेलामा समेत घरेलु औषधिको प्रयोग गर्न समेत भ्याउनुहुन्छ । यसै विषयमा केन्द्रित रहेर गरीवी निवारण परियोजनाका सामाजिक परिचालक कमल भट्टले गर्नु भएको कुराकानी ।)



आजभोली केमा व्यस्त हुनुहुन्छ ?
बर्षातको समय, हामी नेपाली किसानहरुको खेतीपाती लगाउने बेला, धान रोप्ने, कोदो रोप्ने, मकै थन्क्याउने, बाख्राको हेरविचार गर्ने केहि मिटिङमा सहभागिता। यस्तै छ मेरो दैनिकी हिजोआज ।


खेतबारी कति छन् तपाईंको ?
खेत त धेरै छैन, अक्षताको लागि चामल पुग्छ, बारी पनि उति धेरै त छैन, मेहनत गरेर खेती गरे मुस्किलले ८ महिना खान पुग्छ, काम गर्ने मान्छे छैन, बारी बाँझो राख्नु भन्दा मैले त बाख्रेघाँस पो लगाएको छु त । बरु बाख्रापालनलाई थप गर्नसके खानलाउन त माग्नु पर्दैन ।


बाख्रा पाल्ने प्रेरणा कसरी पाउनुभयो त ?
गरीवी निवारण कार्यक्रम हाम्रो गाबिसमा पनि सुरु भयो । हाम्रो टोलमा पनि सामुदायिक संस्था गठन गरियो । संस्थाको विधान निर्माण गरियो । बिभिन्न समितिहरु गठन गरियो । गरीवी निवारण कोषमा जालपादेवी सामुदायिक संस्था भनी दर्ता गरियो । हाम्रो बैठकले आयआर्जन कार्यक्रम गर्ने भनी योजना बनायो । ICDC ले हाम्रो योजनालाई साथ दियो । त्यसबेला कसले के काम गर्ने भनी छलफल गर्दा बजार पनि सजिलो, पाखोबारीमा डाले घाँस लगाउन पनि सकिने, चरन पनि भएको हुँदा सरहरुले बाख्रापालन नै उपयुक्त हुने कुरा सम्झाएपछि मलाई पनि हो जस्तो लाग्यो अनि २५,००० रुपैंया सहुलियत दरको ऋण लिने र ३ वटा माउ बाख्रा किन्ने निधो गरेँ र गरीवी निवारण कोष सँगको साझेदारीमा सञ्चालित आयआर्जन कार्यक्रम अन्तर्गत मैले बाख्रापालन कार्यलाई ब्यवस्थित रुपमा सुरु गरेँ । अहिले मैले ५,००,००० भन्दा बढि आम्दानी गरिसकेको छु भने साना ठुला गरी ३० वटा बाख्रा खोरमा छन् । व्यवस्थित खोर निर्माण गरेको छु । आफ्नो पखेराबारीमा डाले घाँस लगाएको छु । मेरो मुख्य पेशा भनेकै बाख्रापालन भएको छ । बजार पनि सजिलै छ । खोरबाटै बिक्री हुन्छ । गर्दागर्दै म त सानोतिनो पशु डाक्टर नै बनिसकेको छु । घरेलु औषधि समेत म आफै गर्ने गर्छु अहिले त ।


आफ्नो कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामी किसान, पहिलादेखि नै खेतीपाती पनि गर्ने, गाई, भैसी, गोरु, बाख्रा, परेवा सबै थोरथोरै भए पनि आफैं पाल्ने, आफूलाई बढि भएको पनि बेच्न हुन्न भन्ने र भाई साथी, ईष्टमित्रलाई पठाईदिनेसम्म हामीले गर्यौं, भोग्यौं । त्यसै हुनाले हामी जहिले पनि जहाँको त्यहीँ भइरह्यौं । अहिले समय बदलिएको छ । हामी र हाम्रो समुदायलाई माथि उठाउन बिभिन्न संघसंस्थाहरुले सहयोग गरी रहनु भएको छ । मैले पनि पुरानो चलनबाट माथि उठेर अन्य कामलाई भन्दा बाख्रापालनलाई आफ्नो पेशा बनाएको छु । म यसबाट सफल पनि भएको छु । मेरो परिवार पालेको छु । बालबच्चा पढाएको छु । अरुको ऋण छैन । समाजमा सबैले पत्याउने भएको छु । त्यतिमात्र नभएर मैले मेरो पहिचान नै बाख्रा-बाजे बनाउन सकेको छु । मैले यही पेशालाई दीगो बनाउन पुर्वाधार तयार गरिसकेको छु । म नमुना-किसानको रुपमा आफूलाई देखाई अरुले पनि मबाट प्रेरणा लिऊन् भन्ने चाहन्छु । मैले विभिन्न कार्यक्रमहरुमा विभिन्न कविताहरुमार्फत यो सन्देश फैलाइरहेको पनि छु । त्यसैले म यस कामबाट धेरै खुसी छु ।


बाख्रापालनको क्रममा भोग्नु भएको समस्या के-के छन् त ?
मैले भोगेको मुख्य समस्या भनेकै बाख्रा बिरामी परेको बेलामा उचित सल्लाह र औषधिको बारेमा जानकारी नपाउनु हो । गाँऊ-गाँऊमा भेटनरी डाक्टरहरु भैदिएमा हामी जस्तालाई राहत मिल्ने थियो । संस्थाले पनि डाक्टरहरु बेलाबेलामा पठाउने गरिदिए राम्रो हुनेथियो । अहिले वीमा गर्नुपर्ने थाहा भयो । निजी कम्पनीहरु टाढा भनेर आउन आनाकानी गर्दा रैछन् । अब कृषि विकास बैक मार्फत सञ्चालन भएको कार्यक्रमको बारेमा तपाईले बताउनु भएको छ । हाम्रो सामुदायिक संस्थाले यो वीमा कार्यक्रम चलाउन सहयोग गरिदिनुस्, अनि मात्र हामी सुरक्षित हुन्छौं र ढुक्क भएर काम गर्नेछौं ।


तपाईं 'जालपादेवी सामुदायिक संस्था' को कोषाध्यक्ष पनि हुनुहुन्छ, सामुदायिक संस्थाले के-के गर्दैछ त ?
हाम्रो सामुदायिक संस्थामा हाल ४६ जना सदस्यहरु हुनुहुन्छ । आर्थिक बर्ष २०७२।०७३ को बाह्य लेखापरिक्षण प्रतिवेदनलाई हेर्ने हो भने ३७ जना सदस्यको लागि ४,८०,२६३ रुपैया लगानी भएको छ । जसमा सबैभन्दा धेरै लगानी २१,००० र कम लगानी १,००० सम्म रहेको छ । प्रति सदस्य ३,३०० बचत भएको छ । सबैले समयमा ऋण तिरिरहनु भएको छ । सबै धेरै सदस्यहरुले ऋण रकम उत्पादनमूलक काममा लगाउनुभएको छ । प्रत्येक महिनामा बैठक बस्छौं, सबै सदस्यहरु जम्मा हुन्छौं, बचत, ऋण लगानी, ब्याजसङ्कलन तथा कुनै नयाँ काम गर्ने भए यी सबै विषयका बारेमा छलफल गरी निर्णय लेख्छौं र काम गछौं । बर्ष-बर्षमा अडिट गर्ने गरेका छौं । हिसावकिताबको बारेमा बेलाबेलामा सबै सदस्यहरुलाई जानकारी गराउने गरेका छौं । बैंकखातामा अध्यक्ष, सचिव र कोषाध्यक्षको अनिवार्य दस्तखतबाट मात्र कारोबार गर्ने गरेका छौं । यति हुँदाहुँदै पनि हाम्रो सामुदायिक संस्थाका केही सदस्यहरुको बानी सुधार गर्नुपर्ने छ । जसले गर्दा सामुदायिक संस्था नै भताभुङ्ग हुन्छ कि भन्ने डर पनि लाग्छ मलाई त ।


हामीले यति धेरै कुरा गर्यौं, केही थप्न मन लागेको छ कि ?
खासै म मिलाएर बोल्न पनि जान्दिनँ, भन्न आँटेको कुरा पनि पुरा भयो कि भएन त्यो पनि थाहा छैन, मबाट केही भूल भएको भए सुधार गरिदिनु होला । यस्तो कार्यक्रम हाम्रो समुदायमा ल्याउनु भई गरीव किसानहरुलाई काम गर्न उर्जा थपिदिनुभएकोमा गरीवी निवारण कोष, ICDC र तपाईंलाई समेत धन्यवाद दिन चाहन्छु । मेरो कुरा अरुलाई पनि बाँडिदिनु भएकोमा खुसी लागेको छ । यसबाट प्रेरणा लिई अन्य दाजुभाइहरुले पनि बाख्रापालन कार्य सुरु गर्नुहुने छ भन्ने लागेको छ । हामी भीरपाखाका धनीहरुलाई त्यही पाखा पखेरोमा डालेघाँस रोप्ने, चरनको उपयोग गर्ने र बाख्रापालन गर्ने हो भने अर्काको देशमा पसिना बगाउन जानु पर्दैन भन्ने मैले ठानेको छु, यही सन्देश सबैतिर लगिदिनुहोला ।

  • Partners
  • World Education
  • JICA/CASP/PPQC
  • LGCDP
  • LGAF/ADB
  • PRAN/CECI
  • HUDEP Nepal/ RDIF
  • European Union
  • CeLerd
  • The Asia Foundation
  • FWOLD
  • Search Nepal
  • World Bank/ PRAN/CECI
  • Center for Education Policy and Practice (CEPP)
  • ASB Germany
  • International Medical Corps (IMC)
  • Foundation De France /ARSOW Nepal
  • TDH Germany
  • Poverty Alleviation Fund/WB
  • UNICEF Nepal
  • KKS Germany
  • BMZ Germany