(युनिसेफको सहयोगमा आई.सी.डी.सी. नेपालद्वारा सञ्चालित 'बाल संरक्षण कार्यक्रम' अन्तर्गत नीलकण्ठ नगरपालिकामा वालसंरक्षण सहयोगमा रहेकी बालिकासँग सामाजिक कार्यकर्ता नानीमाया गुरुङले गर्नुभएको कुराकानी )
|
तपाईंको परिचय दिनुहोस् ।
|
मेरो नाम रमिता मगर (नामथर परिवर्तन ) हो । म अहिले १६ वर्षकी भएँ । म नीलकण्ठ-३ (ठेगाना परिवर्तित)मा बस्छु । मैले भर्खरै एस.ई.ई. पास गरेकी छु ।
|
तपाईंको परिवारमा को-को सदस्यहरु छन् ?
|
म हाल दीपबहादुर मगर (नाम परिवर्तन हालको धर्म बुबा) सँग बस्दै आएको छु । मेरा जन्मदिने बुबाआमाको वारेमा खासै जानकारी छैन । हाल हाम्रो परिवारमा ७ जना सदस्यहरु छन् । बुबाले खेतीपाती गर्नुहुन्छ ,अन्य आम्दानीको स्रोत छैन ।
|
तपाईंलाई भएको समस्याका बारेमा केहि बताइदिनुहोस् न । कुन कारणले संस्थासँग जोडिनुभयो ?
|
म सानै छँदा यहाँ आएकोले परिवारमा रमाएर बस्थें । तर जब म ठुलो हुँदै गएँ, मेरा छिमेकीहरुले मलाई तेरो बुबाआमा ती होइनन्, तेरा बुबाआमा अर्कै छन् भनेर भन्थे, मलाई यस्तो भन्दा ज्यादै नराम्रो लाग्थ्यो । बुबाआमाले पनि छोराछोरीजस्तो व्यवहार नगरेको हो कि जस्तो लाग्थ्यो । कक्षा १० मा सवै साथीहरु कोचिङ पढन गए तर पैसा नभएर म भने गइनँ । साथीहरुले पनि वास्ता गर्दैनथे । त्यसपछि मलाई नियमित पढ्न जान मन पनि लाग्दैनथियो ।
|
त्यस बेलामा के-के कारणले तपाईंलाई दुःख लाग्थ्यो ?
|
मलाई छिमेकीहरुले तेरो बुबाआमा होइनन्, आमाले छोडेर गएको हो भन्ने जस्ता शब्दहरु बारम्बार भनिरहँदा, घरमा पनि फरक व्यवहार देख्दा नमज्जा लाग्थ्यो । विद्यालयमा पनि कसैले मन दुख्नेगरी भन्थे, सरहरुले पनि माया नगरेको जस्तो लाग्थ्यो, साथीहरु पनि मसँग नजिक पर्दैनथे । सवै साथीहरु कोचिङ पढन जान्थे र म भने पैसाको अभावले पढ्न जान पाइनँ यसले मलाई साह्रै दुःख लाग्यो ।
|
दुःखी हुँदा मनमा के-कस्ता विचारहरु पैदा हुन्थे ?
|
सबैबाट मलाई वेवास्ता भएको जस्तो लाग्थ्यो । मेरा जन्मदिने आमाले पनि छोडिन् । मेरो संसारमा को नै छ र ? जस्तो लाग्थ्यो । मेरा आमाबुबा भएको भए केहि हुन्थ्यो कि भन्ने विचार पनि मनमा खेलिरहन्थ्यो । मलाई धेरै रीस उठ्ने , कसैसँग बोल्न मन नलाग्ने , मनमा धेरै कुरा खेल्ने, जिन्दगी देखि धिक्कार लाग्ने, कसैले कुरा गर्दा पनि मेरै कुरा काटेको जस्तो लाग्थ्यो । कहिलेकाहीँ त मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । धेरै पटक डोरी लिएर पनि हिँडें । तर बुबाले फर्काउनु भयो । मेरो बुबाले मलाई केहि राम्रो व्यवहार गरे पनि आमाले भने राम्रो व्यवहार गर्नुहुन्न ।
|
यस्ता समस्याहरु परेको वेलामा क-कसले सहयोग गरे ?
|
शुरुशुरुमा त कसैले सहयोग गर्दैनथे । पछि ICDC को प्रमिला मिससँग भेट भयो र उहाँसँग कुराकानी गरेपछि मैले महशुस गरें कि मेरो सुधार गर्नुपर्ने व्यवहार, साथीभाइसँग कसरी घुलमिल हुने, आमावुवासँग कस्तो कसरी व्यवहार गर्ने भन्ने बारेमा बताउनुभयो र विद्यालयका सरहरु, साथीहरु र बुबाआमासँग पनि कुरा गर्नुभयो । त्यसपछि मेरा केहि साथीभाइ, बुबा र केहि सरहरुले मसँग कुरा गर्न थाल्नुभयो ।
|
संस्थाले तपाईंलाई के सहयोग गर्यो ?
|
प्रमिला मिसले मेरो समस्यालाई घटना व्यवस्थापनमा लग्नुभयो । नियमितरुपमा शिक्षकहरु र मेरो परिवारसँग छलफल गर्नुभयो । मलाई कोचिङ पढ्न आर्थिक सहयोग मिलाइदिनु भयो । बालक्लवको सदस्य भएर विभिन्न कार्यक्रमहरुमा सहभागी हुन थालें । मेरो पढाईलाई निरन्तरता दिन सजिलो होस् भनेर मेरो परिवारलाई 'जीविकोपार्जन सहयोग' अन्तर्गत ICDC वाट बाख्रापालन सहयोग गर्नुभयो । हाल बाख्राहरुले पाठापाठी पाएका छन् । त्यसले गर्दा आमाले मलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको छ ।
|
सहयोगले तपाईं र तपाईंको परिवारमा कस्तो प्रभाव पार्यो ?
|
मेरो जीवनमा मैले थप कक्षा सञ्चालनमा भाग लिएर ICDC को सहयोगले SEE परीक्षा राम्रोसँग पास गरेकी छु । सकारात्मक सोचको विकास भएको छ । परिवारका सदस्यहरुले पनि म माथि गर्ने हेँला तिरस्कारमा कमी भएको छ । साथीहरु पनि मसँग नजिक छन् । जीवनमा केहि त गर्न अवश्य सकिन्छ जस्तो लाग्छ ।
|
तपाईंलाई ICDC को सहयोग र सेवा कस्तो लाग्यो ?
|
आई.सी.डी.सी. को सहयोगप्रति म अति खुशी छु । आगामी दिनहरुमा पनि मजस्ता अर्थात् हरेक खालका समस्यामा परेका बालबालिकाहरुको समस्या समाधानका लागि लागिरहनु हुनेछ भन्ने आशा राखेकी छु ।
|