ICDC
"We aspire to leave no stone unturned." - ‘ICDC-Nepal’
समुदाय रुपान्तरणमा मेरो अविरल यात्रा.......

यो यात्रा बाल्यकालदेखिकै हो । म सानैदेखि आफूलाई सामाजिक कार्यमा समर्पित हुन निकै हुरुक्क हुन्थें । म १२ वर्षको उमेरमा कक्षा ७ मा श्री भिमोदय मा.वि. आरुघाट गोरखामा पढ्थें । मैले समुदायका साथीहरुलाई जम्मागरी समुदायस्तरमा आदर्श बालक्लव गठन गरेर अध्यक्षको भूमिका निर्वाह गर्न थाले । त्यतिबेला हामीले स्व-स्फूर्तरुपमा जागरूक भएर बाल सहभागिताको अधिकारलाई सुनिश्चित गर्दै बौद्धिक तथा खेलकुद प्रतियोगितात्मक कार्यक्रमहरु गर्न थाल्यौं । समुदायमा स्वास्थ र सरसफाई सम्बन्धि सचेतीकरण कार्यक्रमको साथसाथै संस्कृति संरक्षणको लागि लाखेनाच , रोपाईंजात्रा , दशैंमा साँस्कृतिक कार्यक्रम जस्ता साँस्कृतिक पर्वहरुलाई बढावा दियौं (जवकि हाम्रो समुदायमा नेवारी सम्प्रदायको बाहुल्यता रहेको थियो ) । भिमोदयवाट प्रवेशिका उतीर्ण गरेपछि थप अध्ययनको लागि पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरामा रही स्नाकोत्तरसम्मको अध्ययन सकेर सामाजिक सेवा र समुदायको रुपान्तर गर्ने मनभरी अभिलाषा बोकेर २०६७ सालमा एकिकृत सामुदायिक विकास अभियान ICDC-NEPAL मा समाहित हुदै गन्तव्य प्रप्तिको खातिर अविरल चलायमान पाइलाहरु अविच्छिन्नयात्रामा अघि बढिरहदा आत्मा सन्तुष्टिका खातहरु एकपछि अर्को चुलिरहेछ ।

सुरुवाती दिनमा युनिसेफको सहयोगमा द्वन्दमा संलग्न बालबालिकाहरुको समुदायमा पुनर्स्थापना परियोजनामा सहभागी भई आफूलाई सामाजिक कार्यकर्ताको रुपमा परिभाषित गर्ने क्रममा उत्तरी धादिङको क्षेत्र नं. १ अन्तर्गत साविकका मार्पाक, सेम्जोङ, कटुञ्जे ,गुम्दी, सल्यान्कोट,आगिन्चोक ,सल्यान्टार , मुलपानी र बसेरीका विभिन्न गाँऊबस्ती समुदायको मानिहरुसँग हातेमालो गर्दै परियोजनाको लक्ष्यप्राप्तिमा समर्पित हुँदाहुँदै द्वन्दमा संलग्न बालबालिका र उनीहरुको परिवारसँग घुलमिलको वातावरणमा रम्दारम्दै उनीहरुको सन्तुष्टिको आवाज र आफैंमा आत्मसन्तुष्टिको आभाषले ९१४ दिनको अवधि बितेको पत्तै भएन । आज तिनै बालबालिकाहरु समुदायका विभिन्न क्षेत्रहरुमा शिक्षण पेशा, सैनिक क्षेत्र लगायत विभिन्न संघसस्थाहरुमा आवद्ध भई स्थापित भएका छन् । काम, कर्तव्य प्रतिको निष्ठाको परीक्षामा म उतीर्ण भएर नै होला, सस्थाले पुन: विश्वास गरेर यूरोपियन यूनियनको सहयोगमा सञ्चालित स्थानीय तहमा 'मानवअधिकार प्रवर्धन तथा सम्मान सुनिश्चितता परियोजना' मा काम गर्ने अवसर पाएर साविकका गाविसहरु सल्यानकोट, त्रिपुरेश्वर, आगिन्चोक, गुम्दी र मुलपानीका दलित, जनजाति , महिला, बालबालिका, अल्पसंख्यक , सिमान्तकृत समुदायका मानिसहरुलाई नैसर्गिक अहरणीय मानवअधिकारका आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको सुनिश्चितका लागि पैरवी सचेतीकरण गर्ने लगायत समुदायमा दिर्घकालीन शान्ति निर्माणको लागि सरोकारवालासँग भलाकुसारी, शान्ति प्रवर्धनको लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै लक्षित समुदायमा प्रत्यक्ष सरोकार राख्ने सवालहरुको उठान र समाधानको बाटोहरु पहिल्याउन स्वस्फूर्तताको लागि पथपर्दशकको रुपमा आफूलाई कटिबद्ध रहँदा रहँदै डेढ वर्षको समयले नेटो काटेको थाहै भएन ।

२०७२ बैशाख १२ र २९ को विनासकारी भूकम्पबाट आफ्नो जीवनसंगिनी, प्यारो मुटुको टुक्रा ५ वर्षको नावालक छोरा र आफ्नी नावालक भाञ्जीलाई गुमाउनु पर्दाको क्षत विक्षत मनलाई सम्हाल्दै एक्लो बालबालिका, अलग्गिएका बालबालिका र जोखिममा परेका बालबालिकाको सहयोग कार्यक्रममा बसेरी, बुढाथुम, मुलपानी, आगिञ्चोक, सल्यानकोट र त्रिपुरेश्वर लगायतका साविकका गाविसहरुमा बालबालिकाको तथ्याङ्क सकंलन गर्दै सहयोगी हातहरुसँग सहयोगको लागि शिफारिस गर्दै , वञ्चितिका ती मलीन अनुहारहरुमा खुशीका वीजारोपण गरी बालबचावट , बालविकास, बालसहभागिता र बालसंरक्षण बालअधिकारको आधार स्तम्भको कार्यान्वयनको लागि सरोकारवालासँग छलफल अन्तरक्रिया गर्दै आठ महिनाको समय अवधि व्यतित भयो । त्यस पछि आई.एम.सी. को सहयोगमा सञ्चालित 'मानसिक स्वास्थ्य र मनोसामाजिक सेवा परियोजना' मा रहेर बुढाथुम मुलपानी र सल्यान्टार साविकको गाविसहरुमा काम गर्ने शुभ अवसर पाएँ । समय र परिस्थितिलाई आत्मसाथ गर्दैगर्दै आफ्नो दुःखमा अरुलाई सहयोग गर्दा आफ्नो मन बुझाउन र अरुको दुःखमा मलम लगाउन सफल भएँ । हाम्रो समाजमा मानसिक समस्यालाई हेर्ने दृष्टिकोण परिवर्तन गरी मानसिक समस्या उपचार गरे निको हुन्छ भन्ने भावनावाट अघि बढ्दै मानसिक समस्या भएकाहरुलाई पशुलाई जस्तै गरिने व्यवहार परिवर्तन गर्न महिला स्वाथ्य स्वमंसेविका, स्वास्थ्यकर्मी , बालसंरक्षण समिति कापदाधिकारीहरु साथै अन्य सरोकारवालहरुको सहयोगले निकै सरल, सहज र अर्थपूर्ण रहयो । मानसिक स्वास्थ्यको यो दर्दनाक अवस्था नेपाल सरकारको फितलो व्यवस्थापनको स्थितिमा मानसिक स्वास्थ्य कार्यक्रमले दिर्घकालीन सेवा पुर्‍याउने हेतुले मानव संसाधन विकासमा निकै पहलकदमी गर्‍यो । सोही अवधिमा मैले ७८० घण्टे मनोविमर्शकर्ताको तालिम लिने सुनौलो अवसर प्राप्त गरें, जुन मेरो लागि जीवनकै महत्वपुर्ण उपलब्धिको रुपमा रह्यो । आवश्यक औषधिको व्यवस्था , मनोविमर्श सेवा , बिरामीको घरमै आधारित स्याहार साथै समुदायको मानसिक स्वास्थ्यप्रतिको गलत अवधारणालाई चिर्ने खालको सचेतीकरण तालिम गोष्ठी सञ्चालन गरियो । साथै होर्डिङबोर्ड, फ्लेक्स, ब्रोसर, बुलेटीन साथै रेडियोकार्यक्रमले धादिङ जिल्लाको मानसिक स्वास्थ्यको क्षेत्रमा क्रमिक रुपमा सुधार भएको देखिन्छ । विशेषत डिप्रेसन, छारेरोग, रुपान्तरित विकृति, मनोचिन्ते रोग, अत्महत्या र मनोविकृति जस्ता समस्याले व्याप्त हाम्रो समुदायमा समस्याकृत व्यक्तिहरुप्रति सद्‍भाव साहानुभूति र उचित स्याहारको अलावा घृणा तिरस्कार गर्ने खराव प्रचलनको अभ्यासले मानसिक अवस्थामा सुधारमा बाधक सावित भएको देखिन्छ । कार्यक्रमको दौरानको समय अवधिमा विश्व बैंक र महालेखापरीक्षकको कार्यालयको संयुक्त कार्यक्रम सामाजिक लेखापरीक्षण कार्यमा नागरिक समाजको अनिवार्य संलग्‍नताको संस्थागत प्रतिनिधित्व गर्दै धादिङको तर्फबाट साविकको सल्यानकोट गाविसमा भूकम्पप्रभावित प्याकेज अन्तर्गत पहिलो किस्ता रु ५०,००० वितरण र यसको प्रभावकारिता बारेमा सल्यान्टार गाविसमा भूकम्प प्रभावितलाई सामुदायिक आवास निमार्णको सम्बन्धमा सामाजिक लेखापरीक्षण कार्यमा संलग्‍न सुशासनको लागि आर्थिक अनुशासन मितव्ययिता र जफावदेहिताको मुलमन्‍त्रबाट अभिप्रेरित भई क्रियाशील रहें । १५ महिने आई.एम.सी. को अवधिपछि युनिसेफको सहयोगमा सञ्चालित 'बालसंरक्षण परियोजना' मा त्रिपुरासुन्दरी गाँऊपालिका र गंगाजमुना गाँऊपालिकाका क्षेत्रहरुमा उकालीओराली गर्दै वस्ती अनि टोलटोलमा शीतलताको सुसेलीहरु सुसेल्दै, बाललबालिकाको संरक्षणको सवालहरुमा परिवार विद्यालय समुदायलाई जागरुक बनाउँदै स्थानीय बालमैत्री शासनको कार्यन्वयन प्रक्रियामा हातेमालो गर्दै आफूलाई सामाजिक रुपान्तरणको यात्रामा अविच्छिन्न सहभागी हुँदै आएको छु ।

संस्थाको २० वर्षे लामो यात्रामा संस्थाका निर्दिष्ट लक्ष्य र उद्धेश्यहरुलाई साकार पार्ने अभियानमा हजारौं अभियन्ताहरुको लस्करको एक पङ्‍तिको पात्र म, धादिङको उत्तरी भेगको जनजाती व्यक्ति, जीवनमा धरै आरोह अवरोह छिचोल्दै संस्थाको एक असल कर्मचारी बन्न प्रयासरत छु । बालअधिकार, मानसिक स्वास्थ्य र समग्र मानवअधिकारको क्षेत्रमा चलायमान पाइलाहरु 'एकिकृत सामुदायिक विकास अभियान' को छत्रछायाँ र अपार मायाले अविच्छिन्नताको लागि मार्ग प्रशस्त गरिरहँदा अर्कोतिर सहयोग गरेका बालबालिकाहरु समुदायमा पुन: स्थापित भएर जिम्मेवार नागरिक बनिरहँदा, समुदायका आवाजविहिनहरु अधिकारको बुलन्द आवाज बोलिरहँदा र मानसिक स्वास्थ्यको समस्याग्रस्त नरकीय जीवनयापन गर्ने मानिसहरु सामान्य जिन्दगीमा फर्कंदा आफूमा आत्मसन्तुष्टिका खातहरु थपिरहँदा अर्थपूर्ण जीवनको बोध भई उपयुक्त पेशा चुनेछु भन्ने भान हुन्छ । सामाजिक रुपान्तरणको यात्रा जीवन्त अघि बढिरहनेछ । अविरल बगिरहने छ ।

-शम्भु गुरुङ


  • Partners
  • World Education
  • JICA/CASP/PPQC
  • LGCDP
  • LGAF/ADB
  • PRAN/CECI
  • HUDEP Nepal/ RDIF
  • European Union
  • CeLerd
  • The Asia Foundation
  • FWOLD
  • Search Nepal
  • World Bank/ PRAN/CECI
  • Center for Education Policy and Practice (CEPP)
  • ASB Germany
  • International Medical Corps (IMC)
  • Foundation De France /ARSOW Nepal
  • TDH Germany
  • Poverty Alleviation Fund/WB
  • UNICEF Nepal
  • KKS Germany
  • BMZ Germany